मलंगवा,२७ चैत । प्रसवकालिन स्याहार तथा लेबर केयर गाइड कार्यान्वयनसम्बन्धी डाक्टर तथा नर्सहरूका लागि अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न भएको छ । प्रादेशिक अस्पताल मलङ्गवाको प्रसूति तथा स्त्रीरोग विभागको आयोजनामा शुक्रबार तालिम हलमा उक्त कार्यक्रममा सञ्चालन गरिएको हो । Enhancing Quality Intrapartum Care for Better Maternal and Neonatal Outcomes भन्ने मूल विषयमा केन्द्रित अभिमुखिकरणमार्फत प्रसूतिकालीन सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सुरक्षित सुत्केरी सेवा सुनिश्चित गर्ने तथा आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रसूतिकालीन स्याहारसम्बन्धी व्यवहारिक ज्ञान, लेबर केयर गाइडको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य सेवामा गुणस्तर सुधारका उपायबारे प्रशिक्षण स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सचिन यादव,सहप्रशिक्षकहरु डा.अविनाश कुमार सिहं र बिना यादवले दिएका थिए ।
प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवले प्रसवकालीन स्याहार तथा लेबर केयर गाइड कार्यान्वयनसँग सम्बन्धित संवेदनशीलता, जटिलता, सहजता र चुनौतीलगायतका मुख्य पक्षहरू समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अभिमुखिकरणका अध्यक्षता गरेका अस्पतालका निमित मेसु रामप्रकाश साहले यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि भई सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।