सर्लाही,२५ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय समय पालनालाई कडाइका साथ कार्यान्वयन गर्न आज बिहानैदेखि अनुगमन सुरु गरेको छ । बिहान ९ बजे कार्यालय समय सुरु भएसँगै विभिन्न सरकारी कार्यालयमा उपस्थिती तथा कार्यशैलीको निरीक्षण थालिएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार समयमा कार्यालय नपुग्ने, हाजिरी नगर्ने वा बिना कारण अनुपस्थित रहने कर्मचारीको हाजिरी काटिनेछ । त्यस्ता कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिससमेत गरिने उनले जानकारी दिए ।
उनले कार्यालय अनुशासन कायम गर्न पोशाकसम्बन्धी मापदण्ड पनि कडाइका साथ लागू गरिने बताए । निर्धारित पोशाकमा उपस्थित नहुने कर्मचारीलाई पनि कारबाहीका लागि सिफारिस गरिने सिडीयो कडरियाले बताए ।
बिहान ९ बजे नै सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको नेतृत्वमा अनुगमन टोली विभिन्न कार्यालयमा खटिएको छ । टोलीले कर्मचारीको समयमै उपस्थिती, हाजिरी तथा कार्यशैलीको स्थलगत निरीक्षण गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउन यस्तो अनुगमन अभियान सुरु गरेको जनाएको छ ।