मलंगवा,२५ चैत । भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै भू–सेवा, लेखापढी व्यवसायी तथा सेवाग्राहीलाई नियम पालना गर्न अनुरोध गरेको हो । कार्यालयका अनुसार सेवा प्रवाहलाई गुनासोरहित र भ्रष्टाचारमुक्त बनाउन माथिल्लो निकायबाट प्राप्त निर्देशनअनुसार यस्तो व्यवस्था गरिएको हो । कार्यालयको नियमित कामलाई व्यवस्थित बनाउन सबै सरोकारवालालाई सहयोग गर्न भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाका कार्यालय प्रमुख नितेश झाले सुचना जारी गर्दै आग्रह गर्नुभयो ।
सूचनामा लेखापढी व्यवसायीले आफ्नो दायित्व पूरा गरी सेवाग्राहीलाई मात्र कार्यालय भित्र पठाउनुपर्ने उल्लेख छ । सेवाग्राहीले पनि आफ्नै कामका लागि आफैं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, लेखापढी व्यवसायी सेवा प्रवाहका क्रममा कार्यालय आउनुपर्ने भएमा परिचयपत्र देखाएर मात्र प्रवेश गर्नुपर्ने छ । कार्यालय परिसरभित्र अनावश्यक रूपमा भीडभाड, कागजात खोल्ने, ओसारपसार गर्ने जस्ता गतिविधि नगर्न पनि निर्देशन दिइएको छ । यसैगरी, कार्यालय परिसरको मूल ढोकाबाट ५० मिटरभित्र (मूल सडकसम्म) कुनै पनि लेखापढी वा भू–सेवाको काम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । हाल सञ्चालनमा रहेका त्यस्ता गतिविधि तीन दिनभित्र हटाउन निर्देशन दिइएको छ, अन्यथा कानुनी कारबाही हुने चेतावनी दिइएको छ । कार्यालयले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै उच्च मनोबलका साथ सेवा प्रवाहमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।