सर्लाही,२३ चैत । सर्लाही जिल्लामा विदेशी नम्बर प्लेट भएका सवारीसाधन सञ्चालन गर्न अब अनिवार्य रूपमा अनुमति लिनुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया ले यस्तो व्यवस्था लागू गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार देशैभर यो नियम लागू गर्ने निर्णय भइसकेको र सर्लाहीमा समेत सोही अनुसार कार्यान्वयन प्रक्रिया अघि बढाइने छ । “विदेशी नम्बर प्लेटका गाडी चलाउँदा अनुमति लिनु अनिवार्य हुनेछ,” उनले भने, “यसले सुरक्षा तथा राजस्व व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यो व्यवस्था दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गरी सबै प्रकारका सवारीसाधनमा लागू हुनेछ ।
विदेशी नम्बर प्लेट भएका मोटरसाइकल, स्कुटरदेखि कार, जीप, बस तथा ट्रकसम्म सञ्चालन गर्न अनुमति लिनुपर्नेछ । यस्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र खडका ले सार्वजनिक सूचना जारी गरी छिट्टै उक्त नियम लागू गरिने बताएका छन् । “हामी आवश्यक तयारीमा छौं, चाँडै सार्वजनिक सूचना जारी गरेर कार्यान्वयनमा लैजान्छौं,” उनले बताए । प्रहरीका अनुसार सीमावर्ती क्षेत्र भएकाले विदेशी नम्बर प्लेटका सवारीसाधनको आवतजावत बढ्दो रहेको छ । यस्तो अवस्थामा अनुमति प्रणाली लागू गरिँदा अवैध गतिविधि नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा राजस्व संकलनमा सहजता आउने विश्वास गरिएको छ ।जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले यस सम्बन्धमा आवश्यक समन्वय गर्दै कार्यान्वयनको तयारी तीव्र पारेका छन् ।