सर्लाही,१८ चैत । सर्लाहीमा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले जिल्लामा सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन विभिन्न निर्णयहरू गरेको छ ।बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सुरक्षा निकाय, निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी तथा मतदातालाई धन्यवाद ज्ञापन गरिएको थियो ।त्यस्तै, नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत “सुशासन सुधार सम्बन्धी कार्ययोजना” कार्यान्वयनमा जोड दिँदै सबै कार्यालयहरूले आ–आफ्नो जिम्मेवारीअनुसार उक्त कार्यक्रम प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एकद्वार प्रणालीमार्फत सेवा सञ्चालन गरी नेपाल सरकारको मर्म, गति र भावना (स्प्रिट) अनुसार सेवा प्रवाह गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जिल्लास्थित सबै कार्यालयहरूले एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्नुपर्ने, कर्मचारीहरूले अनिवार्य रूपमा व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने र कार्यालय परिसरमा जडान गरिएका सिसिटिभी प्रणाली मर्मतसम्भार गरी नियमित सञ्चालनमा राख्नुपर्ने निर्णय गरिएको छ ।
यस्तै, विपद् व्यवस्थापनको तयारी सुदृढ बनाउन आवश्यक उपकरण तथा सामग्रीहरूको विवरण अद्यावधिक गरी तोकिएको समयभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा समेत कडाइ गरिने निर्णय गर्दै स्थानीय तहले तोकेको मापदण्डअनुसार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने बैठकले जनाएको छ ।
बैठकले जिल्लामा सुशासन कायम गर्दै सेवा प्रवाहलाई थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।