सर्लाही,१८ चैत । भोलि देखी शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सर्लाहीमा शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिने भएको छ । जिल्ला परीक्षा समन्वय समितिका अनुसार जिल्लाभर ३५ वटा परीक्षा केन्द्र तोकिएका छन् । नियमिततर्फ १० हजार २६५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ विद्यार्थी गरी कुल ११ हजार ३५१ परीक्षार्थी परीक्षा सहभागी हुनेछन् । परीक्षालाई निष्पक्ष, अनुशासित र मर्यादित बनाउन विभिन्न कडा व्यवस्था लागू गरिएको छ। परीक्षा केन्द्राध्यक्षबाहेक अन्य कसैले मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ भने परीक्षामा खटिएका निरीक्षक, कर्मचारी तथा परीक्षार्थीलाई चिट, गाइड, किताब, नोटबुक लगायतका सामग्री प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
साथै, परीक्षा अवधिभर मोबाइल लगायतका विद्युतीय उपकरण प्रयोगमा समेत रोक लगाइएको छ । कक्षा कोठामा जाँचका क्रममा कुनै विद्यार्थी वा शिक्षकबाट मोबाइल वा अन्य सामग्री बरामद भएमा नियन्त्रणमा लिइने जनाइएको छ। त्यस्तै, परीक्षा केन्द्रको २०० मिटर वरपर अभिभावक तथा अन्य व्यक्तिलाई बस्न नदिने व्यवस्था समेत गरिएको छ । समितिले सम्पूर्ण सरोकारवालालाई निर्णयको पूर्ण पालना गर्न तथा परीक्षालाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।