सर्लाही,२९ फागुन । सर्लाहीको लालबन्दीमा कृषि, उद्योग, पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यसहित “तेस्रो लालबन्दी महोत्सव २०८२” आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीले महोत्सव आयोजना गर्न लागेको हो । उद्योग वाणिज्य संघ लालबन्दीको हलमा पत्रकार सम्मेलन गरि महोत्सव लालबन्दी–९ स्थित भूतपूर्व खाद्य उद्योग परिसरमा आउँदो चैत ४ गते बुधबारदेखि चैत १५ गते सम्म सञ्चालन हुने जानकारी गराएको छ । महोत्सवको मुख्य उद्देश्य लालबन्दी क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई टेवा पु¥याउनु रहेको आयोजकले जनाएको छ । स्थानीय उत्पादन तथा सेवाको बजार विस्तार, रोजगारीका अवसर सिर्जना, आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय कला–संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
महोत्सवको मुख्य आयोजक उद्योग वाणिज्य संघ लालबन्दी रहेको छ भने संरक्षकका रूपमा लालबन्दी नगरपालिका रहनेछ । साथै नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले सहकार्य गर्ने जनाइएको छ । महोत्सव व्यवस्थापन समितिको संयोजकमा दिपेन्द्र कुमार बलम्पाकी रहेका छन्। समितिमा सदस्यका रूपमा राम प्रसाद देवकोटा, प्रदिप कुमार भण्डारी, राधिका खड्का र कृष्ण बहादुर रहेका छन्।महोत्सवमा करिब १ लाख २० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ भने करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सव संयोजक दिपेन्द्र कुमार बलम्पाकीले जानकारी गराए । कार्यक्रममा विभिन्न व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने तयारी गरिएको छ । महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन दुर्घटना बीमा, सिसी क्यामेरा निगरानी, २४ घण्टा सुरक्षा गार्ड, स्वयंसेवक परिचालन तथा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सुरक्षा व्यवस्था गरिने उल्लेख गरिएको छ । आयोजकले महोत्सव सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सञ्चारकर्मी र सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन् ।