दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ नाउलामा बाघको आक्रमणबाट स्थानीय एक किसानका ६ वटा खसी बाख्रा मरेका छन्। शनिबार राति भएको उक्त घटनामा ६९ वर्षीया मैना बोहराको खोरमा रहेका बाख्रा र खसीलाई बाघले आक्रमण गरी मारेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बहादुर बरालका अनुसार खोरभित्र रहेका ४ वटा बाख्रा र २ वटा खसीलाई बाघले एकै रातमा मारेको पुष्टि भएको छ। उनले बाघको आक्रमणबाट किसानलाई अनुमानित रूपमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए।
स्थानीयवासीका अनुसार बाघको आक्रमण शनिबार साँझपख भएको हो। बाघ घरनजिकै खोरमा पसेर एकैपटक ६ वटा पशु मारेपछि गाउँमा त्रास फैलिएको छ। यद्यपि, आक्रमणबाट मानवीय क्षति भने भएको छैन।
वर्षौंदेखि पाल्दै आएका पशुहरू एकैछिनमा मारिएपछि किसान बोहोरासहित अन्य स्थानीय चिन्तित र त्रसित बनेका छन्। साँझपख ओहोरदोहोर गर्न समेत डर लाग्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
पछिल्लो समय वन क्षेत्र नजिकका गाउँहरूमा वन्यजन्तुको आक्रमण बढ्दो क्रममा रहेकाले स्थानीयले सम्बन्धित निकायसँग तत्काल समाधान खोज्न आग्रह गरेका छन्।